नेपालमा पश्चिमी वायुको प्रभाव

नेपालमा पश्चिमी वायुको प्रभाव

२४ फागुन, काठमाडौं ।
पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताए ।  “प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ”, उनले भने । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने बताइएको छ ।

यस प्रणालीको प्रभाव आज बेलुकासम्म मात्र कायम रहने र भोलिबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ । हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको जनाइएको छ ।

उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै नेपालगञ्जमा ९५ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.