गोरखाको बारपाकमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते, चार जनाको अवस्था गम्भीर

गोरखाको बारपाकमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते, चार जनाको अवस्था गम्भीर

२७ फागुन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलास्थित सिम्बमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मंगलबार विहान सौरपानी रञ्चोकबाट स्वाँरा हुँदै गोरखा बजारका लागि छुटेको यात्रुबहाक जीप ब्रेक फेल भएर सडकबाट करिब एक सय मिटर तल खसेको हो।

बा १५ च १०१६ नं. को जीप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी सन्तबहादुर गुरुङले बताए । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ की १९ वर्षीया विमला गुरुङ, ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते रहेको प्रहरीले जनाएको छ।

सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले बताए। घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर छ।

घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.