२७ फागुन, विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ मलंगवामा सोमबार साँझ एक वृद्धले दाउराले हानेर श्रीमतीको हत्या गरेका छन् ।
७२ वर्षीय परण ऋषिदेवले ७० वर्षीया पत्नी सवुत्री ऋषिदेवलाई सिसौंको दाउराले टाउकामा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
डिएसपी राईले आफ्नै श्रीमतीलाई हत्या गरेका परणलाई नियन्त्रणमा लिइएको र शव पोस्टमार्टमकालागि कोशी अञ्चल अस्पतालमा राखिएको बताए ।
सवुत्री पारालाइसिस भएर अपाङ्गता जीवन विताउँदै आएकी थिइन् । उनीहरुका ३ छोरामध्ये दुई जना बोल्न नसक्ने अवस्थामा अपांग रहेको र एउटा छोराले परणलाई ज्याला मजदुरी गरेर जीवन गुजारामा साथ दिँदै आएका थिए ।
राईले परणको स्वास्थ्य जाँच गर्दा मादक पदार्थ सेवन गरेको पाइएको बताए ।