२८ फागुन, काठमाडौं । उच्च अदालत पाटनले दिएको आदेश विपरित यातायात व्यवस्था विभागले राइड सेयरिङ कम्पनी टुटल, पठाओको सेवा अवरुद्ध पार्ने चेतावनीसहितको सूचना प्रकाशित गरेको छ ।
विभागले यातायात व्यवस्था ऐन विपरित हुने भन्दै निजी सवारी साधानबाट भाडा उठाउनेगरी सेवा सञ्चालन गर्न नहुने बताएको छ । विभागले यदि कसैले रातो नम्बर प्लेटको सवारीमा भाडा लिएर चलाएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
तर विभागका महानिर्देशक गोगनबहादुर हमालले भने टुटल पठाओको सेवा रोक्ने सूचना नभएको बताए । तर विभागको सूचना भने टुटल पठाओको सेवा लक्षित रहेको छ । हमालले टुटल पठाओ लक्षित सूचना आफूहरुले जारी नगरेको बताए ।
टुटल पठाओको सेवा रोक्न माग गर्दै ट्याक्सी व्यवसायीहरुले हालेको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले केही समयअघि सेवा रोक्न नहुने बरु नियम कानून बनाएर नियमन गर्न सरकारका नाममा आदेश दिएको थियो । अदालतको आदेशपछि ट्याक्सी व्यवसायीहरुले टुटल पठाओ विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।