२८ फागुन, कोहलपुर । टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कोहलपुर–नेपालगञ्ज सडकखण्डमा तनावग्रस्त बनेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएपछि उक्त क्षेत्रमा तनाव उत्पन्न भएको हो ।
कोहलपुर–नेपालगञ्ज सडकमा रा १ ख २१८८ नंको टिपरले बिहान करीब साढे ११ बजेतिर ठक्कर दिँदा थारूको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पु¥याउँदा बाटैमा मृत्यु भइसकेको थियो ।
मृतक तरकारी व्यवसायी रहेको खुलेको छ । ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
सो दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द भएको छ ।
दुर्घटनालगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिएका छन् ।