सामान लुकाउनेलाई कारवाही गर्न सांसदहरुको माग

सामान लुकाउनेलाई कारवाही गर्न सांसदहरुको माग

२९ फागुन, काठमाडौं । सांसदहरुले कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि तत्काल रणनीति बनाई आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले विमानस्थल, सिमा नाका र भीडभाड हुने स्थानमा आवश्यक सर्तकता अपनाउदै स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विदेशबाट आउनेले कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाएकै भरमा कुनै चेकजाँच नगरी जाने व्यवस्था गर्दा संक्रमणको जोखिम बढेको भन्दै जोखिमयुक्त मुलुकबाट आउनेलाई अनिवार्य क्वारेन्टायनको व्यवस्था गर्न पनि सांसदहरुले माग गरे । साथै कोरोना भाईरसको त्रास संगै कालो बजारी बढेकाले दैनिक उपभोग्य सामानको सुलभ मुल्यमा उपलब्ध गराउने सम्बन्धमा जनतालाई आश्वस्त पार्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको अवस्थामा बजारमा कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग गरे । कोरोनाकोे मौका पारेर ‘जम्माखोरहरुल’े कृतिम अभाव श्रृजना गर्न खोजेको भन्दै अनुगमन गरी कारबाही गर्न उनले माग गरे । उनले खाना पकाउने ग्यास लगायतका उपभोग्य सामग्रीहरुको अभाव देखिएकाले सामान लुकाएर कालोबजारी गर्ने व्यापारीलाई कानूनअनुसार कारबाही गर्न माग गरे ।

सांसद अधिकारीले स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित उपकरणहरु तत्काल उपलब्ध गराउन समेत माग गरे । सांसद अधिकारीले पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट गराउनेलाई सार्वजनिक गर्न माग गरे । विष्फोट हुनु पुर्व नै नेपाल प्रहरीलाई पुर्व अनुमान थियो भन्नु अनि विष्फोट पनि हुनुले नेपाल प्रहरीमाथि पनि आशंका पैदा गरेको बताए ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोना संक्रमणलाई नेपाल भित्रन नदिने रणनीति तयार गर्न सरकारको ध्यानाकर्षण गराइन् । अन्तराष्ट्रिय आवागमनमा नेपालले अहिलेसम्म कुनै पनि रोक नलगाएको प्रति उनले गम्भीर ध्यानाकर्षण गराइन् । छिमेकी मुलुक भारतले आवागमनका यात्रुलाई अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दे उहाँले समयमा नै आवश्यक सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले भने “कोरोना भाईरस नियन्त्रण गर्नका लागि सरकार तयार छ कि छैन ? खाद्य सामाग्री देखि औषधी उपचारका लागि कच्चा पदार्थ ल्याउनका लागि सरकार तयार छ कि छैन ? अहिले सरकार, सरकारमा बसेका मन्त्रीहरुको अभिव्यक्ति हेर्दाखेरी अत्यन्तै कमजोर अभिव्यक्ति र नेपाली जनताले विश्वास गर्न नसक्ने किसिमको अभिव्यक्ति सरकारबाट आईरहेको छ । सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ । हरेक जनता खाद्यान्न लगायत अत्यावश्यक औषधीबाट बञ्चित हुनुपर्दैन भनेर व्यवहारमा देखाउन जरुरी छ ।”

भारत लगायत सबै मुलुकले आफ्नो देशमा पर्याप्त सुरक्षा सर्तकता अपनाईरहेका बेला नेपाल सरकारका मन्त्रीले भने गैह्जिम्मेवार अभिव्यक्ति दिएर जनतालाई थप त्रसित पार्ने काम गरिरहेको भन्दै उनले स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे सरकारको जवाफ माग गरिन् । उनले भनिन् “सरकारको स्वास्थ्य मन्त्रीले सरकार अहिले तयारीमा छैन । आफैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाईनमा एक्लै बस्नुपर्छ भन्ने जस्ता सन्देशहरु बाहिर प्रवाह गरेर जनतालाई अझै बढी त्रसित गरेको गरेको हामीले अनुभूति गरिरहेका छौ । सरकारले किन यस्तो अभिव्यक्ति दियो त्यसको जवाफ पनि हामी सभामुख मार्फत चाहन्छौ । ”

कोरोना संक्रमणको नाममा जनतालाई त्रसित पार्ने गरि अत्यावश्यक खाद्य बस्तुहरु व्यापारीले लुकाएर बजारमा पाईन छोडको, अन्तराष्ट्रिरुपमा पेट्रोलियम पदार्थको मुल्य ३० प्रतिशतले कमि आउँदा पनि नेपाली महंगो पेट्रोल किन्न बाध्य भएको उल्लेख गर्दै उनले जनतालाई आश्वस्त पार्न सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

राजपाका सांसद महिन्द्रराय यादव ले कोरोना संक्रमणले नेपाली जनतामा भय र त्रास फैलिएको भन्दै नागरिकलाई आश्वस्त तुल्याउदै संक्रमणको जोखिमबाट बच्नका लागि आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारको व्यवहारको जनता आश्वस्त हुनुको सट्टा झन झन अन्यौल बढाएको भन्दै एकीकृत र एकद्धार प्रणालीबाट जनतालाई सुसचित गराउन पनि आग्रह गरे । उनले कोरोना संक्रमणको संभावित जोखिमबाट बच्न सिमा क्षेत्रमा समयमै आवश्यक सर्तकता अपनाउदैे जोखिम न्यूनीकरणका लागि प्रदेश र संघ बीच समन्वय गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रदीप यादवले कोरोना संक्रमणको जोखिम निम्तन नदिनका लागि सरकारले पर्याप्त सर्तकता अपनाउन नसकेको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराए । उनले छिमेकी मुलुक भारतले पनि उडानहरु रद्द गर्ने निर्णय गरिसकेको, सबै मुलुकले विमानस्थलमा जाँच गर्ने र जोखिमयुक्त मुलुकबाट आउनेलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिरहदाँ नेपाल सरकारले भने लापरवाही गरेको आरोप लगाए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका चिनिया कामदार केहीलाई क्वारेन्टायनमा राखेको भन्ने खबर आएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकारकाको ध्यानाकर्षण गराए । उनले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा ३० प्रतिशतले कमि आउँदा पनि नेपालमा भने पेट्रोलियम पदार्थको मुल्य समायोजन नगरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद डिला संग्रौला पन्तले विश्वभर नै कोरोना भाईरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सर्तकता अपनाईरहेका बेला नेपाल सरकार भने गैह जिम्मेबार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराए । विश्वका मुलुकले आफ्ना नागरिकलाई सुरक्षित बस्न अपिल गर्दै आवश्यक क्वारेन्टाईन लगायतको व्यवस्था मिलाईरहेका बेला सरकारका स्वास्थ्यमन्त्रीले जनतलाईलाई आफै क्वारेन्टाईनमा बस्नुपर्छ भनी गैह्जिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिन नमिल्ने तर्क गरे । उनले भने “हाम्रो स्वास्थ्यमन्त्रीले नेपाली जनतालाई अपिल गर्नुको साटो अब विदेशबाट आएकाले क्वारेन्टाईनमा आफै बस्न पर्यो । आईसोलेसनमा आफै बस्नुपर्यो । सरकारले राख्न सक्त्तैन भन्दै गर्दा आज नेपाली जनता त्रसित छन् । यो मुलुकको स्वास्थ्य मन्त्रीले गैह्जिम्मेवारीपुर्ण अभिव्यक्ति दिने अधिकार छैन म म ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय ।”

कोरोना भाईरसको संक्रमणको जोखिमको त्रास सगै बजारमा खाद्यान्न, ग्यास, औषधी, मास्क, सेनिटाईजर लगायत सामान अभाव भएको भन्दै खाद्यान्न अभाव हुन नदिने व्यवस्था गर्न पनि उनले ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसद निरादेवी जैरुले कोरोनाको नाममा कालोबजारी मौलाएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले कोरोना संक्रमणको संभावित जोखिमको आकलन गरि काठमाडौंमा रहेका तथा विभिन्न क्षेत्रका विद्यालय र भवनहरुलाई क्वारेन्टानको लागि तयारी अवस्थामा राख्ने व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.