२९ फागुन, एजेन्सी । बलात्कार र यौन दुर्व्यवहार आराप लागेका हलिउड निर्माता हार्वे विन्स्टनलाई अमेरिकाको एक अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ ।
लामो समयसम्म चलेको अदालतको सुनुवाईको अन्त्यमा उनी दोषी प्रमाणित भएका छन् । न्यूयोर्कको अदालतले ६७ वर्षिय विन्स्टनलाई बुधबार अदालतले सजाय सुनाएको हो । अदालतको यो निर्णयलाई कतिले मिटु अभियानको ठूलो सफलता भनेका छन् भने कतिले कानुनी शासनको जितका रुपमा व्याख्या गरेका छन् ।
उनका वकिलले हार्वेप्रति उदारता देखाउन अनुरोध गर्दै पाँच वर्षको मात्रै सजाय दिन माग गरेका थिए । तर अदालतले यो आग्रहलाई स्वीकार गरेन । कुनैबेला हलिउडका सबभन्दा शक्तिशाली मानिएका निर्माता हार्वेका करतुत सार्वजनिक गर्दै अभिनेत्रीहरुले बलात्कार र यौन दूर्व्यवहारको आरोप लगाएका थिए । हार्वे्विरुद्धको मुद्दा सार्वजनिक भएपछि संसारभर यसले मिटु अभियानलाई बल दिएको थियो ।
विन्स्टनले भने अदालतमा आफूलाई गलत नियतले आरोप लगाइएको भन्दै मिटु मुभमेन्टलाई गलत तरिकाले व्याख्या गरिएको बताएका थिए । सन् २०१७ देखि ८० भन्दा बढी महिलाले विन्स्टनविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका थिए । सलमा हयाक लगायतका हलिउडका चर्चित अभिनेत्रीहरुले हार्वेको दुर्व्यवहारबारे बोलेका थिए । जेल सजाए सुनाएसँगै हार्वेलाई छाती दुखाईका कारण अस्पताल लगिएको थियो । मुटुको सर्जरीसँगै उनलाई न्यूयोर्क्स्थित जेलमा सारिएको छ ।