३० फागुन, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा घरमै बनाएको अत्यधिक रक्सी सेवनका कारण पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेका छन् ।
बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि ज्यान गएको प्रहरीले जनाएको छ । सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।
घरेलु रक्सीकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ । मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरीले जनाएको छ। (रासस)