मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

३० फागुन, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । त्यस्तै राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताएकी थिइन् ।

संघीयता लागू भएको देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको उनको धारणा थियो । संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राखेकी थिइन् । उनले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताइन् ।

भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए । प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराएका थिए । हाम्रा लागि यो दुई बर्ष निकै महत्वपूर्ण बर्ष रहे, मुख्यमन्त्री राईले भने कानुन निर्माण र आवश्यक संरचनाहरु तयार भएका छन् ।

प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश लोकसेवा आयोग गठन भएकोले समस्या समाधान हुने बताए । जनताका असिमित चाहना र सिमित स्रोतकाबीच काम गरिरहेको मुख्यमन्त्री राईले बताए । प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना, १० बर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताएका थिए ।

मुख्यमन्त्री राईले साना सिँचाइ, सहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको बताउँदै चिफ मिनिस्टर ड्यास बोर्डको काम भइरहेको बताए । रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री राईले बताएका थिए । भेटका क्रममा सहभागि सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धि विधेयक प्रदेश सभामा पेश भएको बताउँदै उक्त विधेयकले वालबालिकाहरुको अधिकार सुनिश्चित हुने बताएका थिए ।

यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाको बारेमा जानकारी गराउका थिए । भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क वीच लगायत टोलीको उपस्थिति थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.