भूकम्पपछिको पूननिर्माणका लागि रेडक्रसमा आएको ९ अर्बको खोजी सुरु

भूकम्पपछिको पूननिर्माणका लागि रेडक्रसमा आएको ९ अर्बको खोजी सुरु

३० फागुन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका सम्बन्धमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले छानबिन थालेको छ ।

समिति रेडक्रसमा करोडौँ भ्रष्टाचार भएको उजुरी परेपछि शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गर्दै समितिले छानबिन थाल्ने बताएको हो । जिल्ला प्रशासन कार्यालयमा दर्ता र समाजकल्याण परिषदमा आवद्धता भएपनि नविकरण नगरेको, महालेखा परीक्षणको कार्यालयले अडिट गर्न नपाउने, आफै कर्मचारी र आफै पदाधिकारी रहेर आफन्त तथा नातागोताका व्यक्तिलाई जागिर लगाएर करोडौँ रुपैयाँको भ्रष्टाचार गरेको उजुरी परेपछि समितिले छानबिन गर्ने भएको हो ।

समिति सभापति निरुदेवी पालले रेडक्रसमाथिको छानबिन कुनै पनि बाहना र अवस्थामा रोकिन नहुने बताइन् । उनले भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति भएपनि कारवाही हुनुपर्नेमा जोड दिइन् । शुक्रबार बसेको बैठकले समितिमा प्राप्त उजुरीका सम्बन्धमा रेडक्रसका पदाधिकारी र सरोकारवालालाई बोलाएर विस्तृत छलफल गर्ने निर्णय गरेको सभापति पालले बताइन् ।

शुक्रबारको समिति बैठकमा सांसदहरुले पनि छानिबन गरी कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । सांसद खेमप्रसाद लोहनीले नविकरण नगर्ने, अपारदर्शी हुने, ठूलो रकम लिएर आउने तर लेखाजोखा नहुने रेडक्रसका पदाधिकारीलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए ।

सांसद ध्रुव राउतले रेडक्रसको स्वामित्व सरकाले लिएर सञ्चालन गर्नुपर्ने बताए । सांगठनिक अस्तव्यस्तता र एकाधिकार जस्ता कारणले अनियमिता बढेको भन्दै उनले समयानुकुल विधान परिमार्जन गर्नुपर्ने सुझाव पनि दिए ।

रेडक्रसमाथि भूकम्पपछिको उद्धार, राहत, पुर्नस्थापना र पूननिर्माणका लागि दाताहरुबाट ९ अर्ब अनुदान प्राप्त गरेपनि स्थानीय स्तरमा कुनै काम नभएको आरोप छ । भूकम्प पीडितको कोष पुर्नस्थापना र पूनर्निमार्णको काम नभइ प्रशासनिक खर्चहरुमा सुविधा सम्पन्न सामानहरुको खरिदमा जथाभावि खर्च गरेको आरोप पनि लगाइएको छ ।

रेडक्रसका पदाधिकारीहरुले साढे २४ करोड रुपैयाँ पदाधिकारी र कर्मचारीको तलब भत्ता, विदेश भ्रमण, कार्यालयको फर्निचर तथा सजावट र सवारी साधन तथा अन्य खरिदमा खर्च गरेको समितिमा प्राप्त उजुरीमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.