२ चैत, कञ्चनपुर । नेपाली भूमिमा नेपाल-भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुर बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसका नेता र कार्यकर्ताले सीमा स्तम्भ भत्काएका छन् । शनिबार कांग्रेस कार्यकर्ताले सहायक सीमास्तम्भ तोडफोड गरेका हुन् ।
उक्त सीमास्तम्भ केही दिनअघि नेपाल-भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरिएको थियो ।
शशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले कांग्रेस कार्यकर्ताले सीमास्तम्भ तोडफोड गरेको जानकारी दिए ।
गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषयभन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए ।
तत्कालीन संविधानसभाका सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए ।
केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो । (रासस)