पशुपतिनाथमा अनियमितताको आशंका, सांसदले देखाए चासो

पशुपतिनाथमा अनियमितताको आशंका, सांसदले देखाए चासो

२ चैत, काठमाडौँ ।
पशुपतिनाथमा हुने अनियमितताका विषयमा सांसदहरुले चासो देखाएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमिति बैठकमा सांसदहरुले पशुपतिमा हुने अनियमितताका विषयमा चासो देखाएका हुन् ।

सांसद सरला कुमारी यादवले पशुपति भित्र जाने फुलहरुमा समेत अनियमितता हुने गरेको कुरा बाहिर आएको बताइन् । भित्र सृंगार पटार र पूजाका लागि फुल लिएर जाने तर बाहिर आउँदा त्यसभित्र अनियमितता भएका कुरा बाहिर आएकोले यो विषयमा स्पष्ट पार्नुपर्ने उनले बताइन् । मन्दिर नै जिर्णोद्धरको अवस्थामा रहेकाले मर्मत सम्भारका लागि गुरुयोजनामा समेटिएको छ कि छैन भन्दै उनले प्रश्न गरिन् ।

सांसद नारदमुनि रानाले पशुपति विकास कोषको नाममा भएको सम्पत्तिको लेखाजोखा हुनुपर्ने बताए । ‘कोषसँग कति सम्पत्ति छ भन्ने अहिले सम्म लेखाजोखा छैन यसको लेखाजोखा गर्नुपर्छ’, उनले भने । समिति सभापति पवित्रा निरौलाले पशुपति क्षेत्रमा निर्माण भएको धर्मशालालाई होटलको रुपमा प्रयोग गर्ने कुरा राम्रो नभएको बताइन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आगामी असारभित्र प्लास्टिक रहित, २४ घण्टा नै विजुलीबत्ति, तारहरु जमिनमुनि राख्ने र शिव लिला निरन्तर बाहिर पुग्ने गरेर हिन्दु धर्म इतरका व्यक्तिलाई पनि आकर्षण गर्ने क्षेत्रका रुपमा विकास गर्न लागिएको बताए ।

त्यस्तै बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयय अवधेशकुमार त्रिपाठीले लुम्बिनी क्षेको गुरु योजना अनुसार ढिलोचाँडो काम भइरहेको बताए । उनले कपिलवस्तु र रामग्रामको विकासका लागि विस्तृत पुरातात्विक अनुसन्धान अध्ययन नपुगेको, व्यवस्थित विकासको गुरुयोजना नभएको र लुम्बिनी जाने पर्यटकलाई कपिलवस्तु र रामग्राम पु¥याउने कुनै ठोस खाका नभएका कारण समस्या देखिएको बताए । उनले लुम्बिनी क्षेत्रको विकासका लागि गुरु योजना अनुसार ८० प्रतिशत काम सम्पन्न भएपनि बाँकी काम पुरा गर्न लुम्बिनी विकास कोषको क्षमताले नभ्याउने बताए । उनले अझै ६ अर्ब रुपैयाँ बराबरको काम बाँकी रहेको समेत जानकारी दिए ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरस श्रेष्ठले लुम्बिनी विकास कोषको गुरु योजना ४० वर्ष अघि देखि नै सुरु भएपनि समन्वय हुन नसक्दा प्रभावकारी रुपमा काम अगाडि बढ्न नसकेको बताए । उनले पशुपति क्षेत्रको विकासको गुरु योजना २०५३ साल देखि सुरु भई २०६६ सालमा सम्पन्न हुँदा समेत भने अनुसारको उपलब्धी नहुनुले समन्वयनमा कमि भएको स्पस्ट हुने बताए । उनले सम्पन्न भएका परियोजना पनि फेरी नयाँ योजना आउँदा समन्वय हुन नसक्दा समस्या आएको बताए ।

उपसमितिले विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरुको अवस्था, विकास निर्माण र देखिएका समस्याका विषयमा छलफल गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.