४ चैत, काभ्रे । टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलञ्चोकले जिल्ला सुरक्षा समितिको बैठकपछि आज (मङ्गलबार) बिहान ९ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कर्फ्यु आदेशको अवज्ञा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार प्रशासनले पनौतीको पूर्व शंखु जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र, पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म, उत्तरमा बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र दक्षिणमा देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ।
प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन राती १७ राउण्ड अश्रु ग्याँस हवाई फायर गरेको थियो भने १५ राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका हवल्दार दीलिप बुढाथोकी लगायत स्थानीय घाइते भएका छन । घाइतेमध्ये बनेपामा उपचार हुन नसकेपछि हर्कबहादुर तामाङ र साजन चौधरीलाई काठमाडौँ रिफर गरीएको छ भने अन्यको बनेपा अस्पतालमा उपचार भईरहेको छ । स्थानीयहरुले दोषि चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।
पनौतीबाट खोपासीतर्फ जादै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको मृत्यु भएको हो ।
छोरीलाई टिपरले ठक्कर दिएपछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भएपछि जचाँउनको लागि बनेपा आएकी थिइन् ।
आमाछोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गरेका हुन् । पनौती क्षेत्र हुँदै दैनीक ५ सय भन्दा धेरै टिपरहरु संचालन हुँदै आएका छन् भने काभ्रेमा दैनीक १ हजार ५ सय टिपरहरु चल्ने गरेका छन् ।
पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन् । मृतकका श्रीमान बैदेशिक रोजगारको क्रममा बाहिर छन् । बाबु जगत गोलेसँग जचाउँन पनौती आउने क्रममा उनलाई टिपरले ठक्कर दिएको हो । (रासस)