४ चैत, महोत्तरी । विषाक्त घरेलु मदिरा पिएर ज्यान गुमाएका धनुषाको रमदैयाका पीडित परिवारलाई प्रदेश सरकारले क्रियाखर्च वितरण गरेको छ । प्रदेशसभा सदस्य शत्रुधन महतोले प्रतिपरिवार १०/१० हजार नगद वितरण गरेका हुन् ।
होलीमा पिएको मदिराले रमदैयाका १४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी जनकपुरमा पनि विषाक्त मदिरा पिएर ६ जना गरी धनुषामा २० जनाको ज्यान गइसकेको छ ।
यता, प्रदेश २ लाई मदिरा मुक्त गर्न माग गदै प्रदेशसभा सदस्य महतोले प्रदेशसभामा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।
राहत वितरणमा पुगेका अर्का प्रदेशसभा सदस्य सारदा देवी थापाले मदिराको मारमा बालबालिका र महिला पर्ने गरेको भन्दै ज्यानमारा रक्सीको भट्टीलाई बन्द गराउनुपर्ने बताइन्। एउटै गाउँका १४ जनाको विषाक्त मदिराले ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।