५ चैत्र, विराटनगर ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालको संविधानमै ‘मधेसी पहिचान’ स्वीकार हुँदा प्रदेश नम्बर २ को नाम ‘मधेस प्रदेश’ किन राख्न नहुने भन्दै प्रश्न गरेका छन् ।
मंगलबार सत्तारुढ दलहरु समाजवादी पार्टी र राजपाको संयुक्त प्रस्ताव अस्वीकृत भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन्।
उनले हिन्दीमा ट्वीट गर्दै लेखेका छन्, ‘हाम्रा पूर्वमाओवादी कमरेड मातृका यादव, प्रभु साह, भरत साह कहाँ हुनुहुन्छ? र पूर्व नयाँ शक्तिवाला मित्रहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हुनुहुन्छ? केही त लाज मान्नुहोस् मित्रहरु’ ।

मंगलबार प्रदेशको २ को प्रस्तावित चार नाममा मतदान भए पनि छिनोफानो भने हुन सकेन। सत्तारुढ समाजवादी र राजपा, प्रतिपक्ष नेकपा, कांग्रेस र पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रदेशसभामा दर्ता गरेका छुट्टा छुट्टै प्रस्तावमा दुई तिहाइ बहुमत नजुटेको हो।