५ चैत्र, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले सम्हालेका छन् ।
भण्डारीले बुधबारबाट दोस्रो पटक संयोजकको जिम्मेवारी सम्हालेको महासचिव केशव झाले जानकारी दिए । यसअघि २०७५ चैत ५ देखि २०७६ जेठ ४ गतेसम्म संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
राजपा विधानमा भएको २–२ महिनामा चक्रीय प्रणाली अनुरुप अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने व्यवस्था अनुरुप बुधबारबाट भण्डारीले संयोजकको जिम्मेवारी पाएका हुन् । भण्डारीको कार्यकाल आगामी जेठ ४ गतेसम्म हुनेछ ।
यसअघि माघ ५ गतेदेखि मंगलबारसम्म महेन्द्रराय यादव संयोजक थिए । २०७४ बैशाख ७ गते मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपामा एकीकरण पूर्वका ६ पार्टीका अध्यक्ष अध्यक्षमण्डलमा छन् ।
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राययादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकीकरण भएर राजपा बनेको हो ।
यी ६ नेताले २–२ महिना चक्रीय प्रणाली अनुरुप संयोजकको जिम्मेवारी सम्हाल्छन् ।