५ चैत, विराटनगर । रघुपति जुट मिल रानीले साढे १५ करोड बक्यौता रकम नतिरेपछि मिलको बिजुली काटिएको छ ।
डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ बक्यौता नतिरेपछि बुधबार लाइन काटिएको प्राधिकरण वितरण केन्द्र विराटनगरका प्रमुख राजीव सिंहले जानकारी दिएका हुन् ।
मिलले गएको कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको विराटनगर प्राधिकरण प्रमुख सिंहले बताए ।
मिलले डेडिकेटेड लाइनको बक्यौता नतिर्ने भन्दै उच्च अदालत विराटनगरमा मुद्दा हालेको थियो । तर प्रेमराज ढकाल र नरिश्वर भण्डारीको इजलासले फागुन ५ गते प्राधिकरणको पक्षमा फैसला गरेपछि प्राधिकरणलाई बक्यौता उठाउन थप सहज भएको थियो ।
मिलले बक्यौता रकम तिरेमा फेरि बिजुली जडान गरिदने प्राधिकरणले जनाएको छ ।