९ चैत्र, झापा ।
भारतको काकड्भिट्टा स्थित पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ ।
आइतबार भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि पश्चिम बंगलासँग सीमाना जोडिएको पूर्वको काँकड्भिट्टा नाका सुनसान भएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले बिहानैबाट पूर्वी नाका ठप्प भएको बताए । जनता कर्फ्युको असर जोगवनी नाकामा पनि परेको छ । यस नाकाबाट समेत आवातजावत प्राय शुन्य छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् ।
सर्वसाधारणको आवागमन ठप्प छ । नाका बन्द भएपछि कोरोनाको संक्रमण भित्रन नसक्ने भन्दै झापाका विभिन्न संघ संस्था र नागरिक समाजले केही दिन नाकाबन्द गर्न आग्रह गरेका छन् । मेचीनगरका मेयर विमल आचार्यले नाकाबन्द गर्न सरकारलाई आग्रह गरिसकेको जनाएका छन् ।
भारतका विभिन्न सहरमा कार्यरत तथा बंगलादेशमा अध्ययनरत नेपाली जनता कर्फ्युका कारण देश फर्किन पाएका छैनन् । नाका ठप्प हुँदा उनीहरु भारतमै अलपत्र परेको बुझिएको छ ।