गभर्नरका लागि तीन जनाको नाम सिफारिस; प्रधानमन्त्रीको सोचमा शिवाकोटी

गभर्नरका लागि तीन जनाको नाम सिफारिस; प्रधानमन्त्रीको सोचमा शिवाकोटी

२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाललाई सिफारिस गरेको हो ।

समितिमा अर्थमन्त्री युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरी बाँस्कोटा रहेका छन् । आजै बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नरको नाम टुंगो लगाउनेछ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्तामणि शिवाकोटीलाई गभर्नर बनाउने सोच बनाएका छन् ।

यो विषयमा प्रधानमन्त्रीले पार्टीका केही नेतालाई समेत जानकारी दिएको स्रोतले बताएको छ । तर अर्थमन्त्री युवराज खतिवडाले महाप्रसाद अधिकारीलाई गभर्नर बनाउन जोड गरेका छन् ।

गएको चैत पाँच गते डा.चिरञ्जिवी नेपालले अवकाश पाएपछि राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.