७ वैशाख, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमामा क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन सरकारले प्रयास गरेको स्पष्ट पारेका छन् ।
आइतबार सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइने नभएर कोरोनाबाट बच्ने रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश आउन पाउनुपर्छ ।
तर देशभक्ति उम्लिने कतिबेला ? हामी उहाँहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ । के सङ्क्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो ? हामीले सीमामा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेका छौँ ।
प्रम ओलीले केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने अनि दशगजामा सुत्ने गरेको पनि पाइएको बताउँदै नेपालीलाई पारि पनि खानबस्न व्यवस्थाका लागि सरकारले सम्बन्धित सरकारसँग कुरा भएको बताए। ‘जसरी पनि आउनुपर्ने ? हामी भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ ।
सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ । यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो,’ प्रम ओलीले स्पष्ट पारे । आफूले नेपालीहरु रहेका विभिन्न मुलुकका समकक्षीसँग चरणबद्धरूपमा कुरा गरिरहेको पनि जानकारी दिए ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न सरकार प्रमुखसँग कुरा गरेको छु । र अन्य संयन्त्रले सम्बन्धित तहमा कुरा गरिरहेका छन् । त्यहाँका सरकारले त्यहाँ रहेका श्रमिक र विद्यार्थी नेपालीलाई आवश्यक उचित प्रबन्ध गछौँ भनेका छन्, त्यसकारण आत्तिनुपर्ने स्थिति छैन,’ उनले भने ।