८ वैशाख, काठमाडौं ।
नेकपाको सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो। मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को उक्त प्रस्ताव बालुवाटारमा सचिवालय बैठक बसिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेकी छन्। उक्त अध्यादेशले नेकपामा ठूलै हलचल ल्याएपछि सचिवालय बैठक बोलाईएको थियो।
सचिवालय बैठकमा संवैधानिक परिषद्को नियुक्तिहरु अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले यसलाई ठूलो रुपमा लिनु हुँदैन भन्ने ब्रिफिङ प्रधानमन्त्रीले गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार अध्यादेशबारे अन्य कोणबाट पनि गम्भीर छलफल भएको बताए। सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन्।