सरकारले ल्याएको अध्यादेश आपत्तिजनक र खेदजनकः कांग्रेस

सरकारले ल्याएको अध्यादेश आपत्तिजनक र खेदजनकः कांग्रेस

९ वैशाख, काठमाडौं ।
सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

विश्व कोरोना भाइरससँग लडिरहेका बेला मुल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको हो । पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार जारी गरेका विधेयकहरु फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ ।

लक डाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको प्रवक्ता शर्माले बताए। जनताहरु घरभित्रै कष्टकर जीवन विताइरहेको उल्लेख उहाँले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएका फिर्ता लिनुपर्ने बताए।

संवैधानिक निर्णयहरु साझा स्वामित्वबोध हुने र राष्ट्रिय जीवनलाई सहजता प्रदान गर्नेगरी हुनुपर्नेमा बहुमतका आधारमा निर्णय गर्न सकिने विषयलाई कांग्रेसले गम्भिर रुपमा लिएको उनले बताए। नागरिकको जीवनप्रति गम्भिर हुँदै सबै विषय थाँति राखेर कोरोना भाइरस विरुद्ध एकजुट भएर लड्ने अभियानमा लाग्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका भातृसंगठनहरुले सरकारको निर्णयविरुद्ध मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्ने प्रवक्ता शर्माले बताए । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन र डेमोक्र्याट लयर एसोसिएसनल एउटै समयमा सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिस अनुसार राजनीतिक दलसम्बन्धि (दोस्रो संशोधनं अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी थिइन । सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.