१६ बैशाख, काठमाडौँ । जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग लिइएको अन्तर्वार्ताको बिषयमा सञ्चार मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग स्पष्टीकरण मागेको छ ।
मन्त्रीस्तरीय निर्णय भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले कार्कीलाई निर्देशन दिएको हो । सञ्चार तथा सूचना सचिव दीपक सुवेदीले रेडियोको अन्तर्वार्ताको बिषयमा के कसो हो भनी बुझ्न स्पष्टीकरण सोधिएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले चैत ९ मा गरेको निर्णयअनुसार कार्य सम्पादन सन्तोषकजनक नभएको भन्दै मंगलबार मन्त्रालयले ७ दिनभित्र पेश गर्ने गरी अर्को स्पष्टीकरण पनि कार्कीलाई सोधेको छ । कार्यसम्पादन सम्बन्धी स्पष्टीकरण मन्त्रिपरिषद्को निर्णयको आधारमा र अर्को स्पष्टीकरण मन्त्रीस्तरीय निर्णयको आधारमा भएको सचिव सुवेदीले जानकारी दिए ।
रेडियो नेपालबाट सोमबार बिहान साढे ६ बजे प्रत्यक्ष प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्धेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रामक र लाञ्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको भन्दै तीन दिनभित्रमा स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ।
रेडियो नेपालले यसअघि नै समाचार महाशाखा प्रमुख नवराज सिलवालले संचालन गरेको सो कार्यक्रममा भट्टराईले प्रयोग गरेका शब्दहरुप्रति दुख व्यक्त गरिसकेको छ। रेडियोले आइन्दा अतिथि निम्त्याउँदा विचार पुर्याउने भनेर पनि विज्ञप्तिमा भनेको छ।