१७ बैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझ बस्ने भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको थियो। सोही भेटपछि आज साँझ पाँच बजे सचिवालय बैठक डाकिएको स्रोतले जानकारी दिएको हो ।
यसअघि सचिवालय बैठक मंगलबार बस्ने भनिएको थियो। नेकपामा पछिल्लो समय राजनीतिक विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ । उक्त समूहका नेताहरूले तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने माग गरेका छन् ।
प्रधानमन्त्री ओली स्वंयले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड-नेपाल समूह लागेको बताएका छन्। ओली र नेपालनिकट नेताहरूले निकासका लागि मंगलबार दिनभरि प्रयास गरे पनि सफल हुन सकेको छैन।
नौ सदस्यीय सचिवालयमा ओली अहिले अल्पमतमा छन्।