संसद भवनको अवलोकनमा पुगे प्रधानमन्त्री, बजेट अधिवेशन चाडै

संसद भवनको अवलोकनमा पुगे प्रधानमन्त्री, बजेट अधिवेशन चाडै

१७ वैशाख, काठमाडौं ।
सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।

बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगेका हुन् । कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको अवलोकन गरेका संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शपछि स्थलगत अवलोकन गरेका उनले बताए ।  बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनु पर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ ।

कोभिड–१९को जोखिमका बिच सामाजिक दुरी कायम गर्दै स्वास्थ्यको दृष्टिले अपनाउने विषयमा ध्यान दिइएको सहप्रवक्ता धमलाले बताए । त्यसकालागि सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने लगायतको काम भइरहेको उनले बताए ।

त्यस्तै संसद भवनमा प्रवेश गर्दा डिसइन्फेक्सन गेट राख्ने, ज्वरो नाप्ने व्यवस्था गरिने तथा स्यानिटाइजरको प्रयोग गर्ने तयारी भइरहेको उनले बताए । बैठककक्ष भित्रपनि स्वास्थ्यको दृष्टिकोणले सावधानी अपनाइने उनले बताए ।

१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । त्यसअघि नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ । त्यसैले लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो भन्दा छिटो अधिवेशन आह्वान गर्ने तयारीमा सरकार छ ।

सम्भवतः जेठको पहिलो साता अधिवेशन सुरु गर्ने तयारी सरकारले गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.