१९ बैशाख, काठमाडौँ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे अध्ययन गर्न गठित नेकपाको कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव दिइएको छ ।
‘अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ भने यी सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको देखिन्छ ।’ –प्रतिवेदनको बुँदा नम्बर १४.६ मा भनिएको छ ।
‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसँग घनिष्ट रुपमा जोडिएको देखिन्छ’ कार्यदलले प्रतिवेदनमा भनेको छ । एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच औपचारिक पत्राचारद्वारा प्रष्ट गर्न कार्यदलले सुझाव दिएको छ ।
कुनै पनि सैनिक वा राजनीतिक शक्ति गठबन्धनमा सामेल हुने वा कसैको सुरक्षा छाता अन्तर्गत रहने कुरा नेपालको संविधान तथा नेपाल कम्युनिस्ट पार्टीको नीति र सिद्धान्तअनुसार अमान्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा भनिएको छ ।
कार्यदलको १६ बुँदे सुझावमा एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै पारित गर्न नहुने उल्लेख छ । उसले बुँदागत रुपमा संशोधन गर्नुपर्ने बुँदाबारे उल्लेख गरेको छ ।
१५–१९ माघ २०७६ मा काठमाडौंमा सम्पन्न नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले कार्यदल गठन गरेको थियो । ९ फागुनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाएको कार्यदलले ढिलो गरी प्रतिवेदन तयार पारेको हो ।