२४ वैशाख, काठमाडौँ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रधानमन्त्रीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गरे । उनले पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान पनि व्यक्त गरे । ‘प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ ।
प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानव अधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ”, सन्देशमा भनिएको छ, “परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।”
नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै उनले सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको पनि जनाए ।
प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि उनले व्यक्त गरे ।
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
सरकारको निर्णयसँगै पाँच वर्षअघिदेखि आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ ।