२६ वैशाख, काठमाडौं ।
नेपालको संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालसँग गरेको सम्झौताअनुसारै अनुमोदित भएको हेर्न चाहेको अमेरिकाले बताएको छ ।
सत्तारुढ दल नेकपाको एक कार्यदलले एमसीसीलाई परिमार्जन गरेरमात्र संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिएको सन्दर्भमा अमेरिकाको यो प्रतिक्रिया आएको हो । अमेरिकाले आफ्नो पुरानै अडान कायम राख्दै उक्त सम्झौता पहिलेको अवस्थामै अनुमोदित भएको हेर्न चाहेको प्रष्ट पारेको हो ।
नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डी अर्मेन्टले उक्त सम्झौताले महत्वपूर्ण विद्युतीय र सडक पूर्वाधार निर्माणबाट नेपाली जनताको लागि फाइदाजनक हुनसक्ने उल्लेख गर्दै ‘सम्झौताअनुसारै अमेरिकाले एमसीसी सम्झौता अनुमोदित भएको हेर्न चाहेको बताइन ।
२०७६ असार ३० मा अर्थ मन्त्रालयले संसदमा अनुमोदनको लागि दर्ता गरेको उक्त सम्झौताको दस्तावेजलाई लिएर नेकपाभित्र आन्तरिक विवाद भएपछि यो संसदबाट अघि बढ्न सकेको छैन । उक्त दस्तावेज हालसम्म पनि प्रतिनिधि सभाको विधेयक शाखामै थन्किएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि उक्त सम्झौतालाई संसदबाट अनुमोदित गरिनु पर्छ भन्ने निर्णय गरिसकेको छ । नेकपामा एमसीसी सम्झौता विकासभन्दा रणनीतिक हिसाबमा आएको र उक्त सम्झौता अमेरिकाले दुई वर्षदेखि अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजीको एक भाग रहेको भन्दै विवाद भएको हो ।