३० वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनालाई नजरअन्दाज गर्दै नीति र सिद्धान्त ल्याएको बताएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले मानव जीवनको रक्षा गर्दै सिद्धान्तहरु आउनुपर्ने भएपनि कोरोनालाई नजरअन्दाज गरेर परम्परागत ढंगबाट सिद्धान्त र प्राथमिकताहरु आएको बताए । नेपाली जनताको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउने अवस्थामा सरकारले त्यसो गर्न नसकेको उनले बताए ।
सरकारले अघि सारेका सिद्धान्त र प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने चेतावनी उनले दिए । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै उनले फागुनसम्म विकास खर्च २५ प्रतिशतमात्रै हुनु अहिलेको सरकारको ठूलो असफलता भएको बताए ।
सरकारको खर्चमा सिथिलता, नीजि क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र सिथिल हुँदै गएको उनले बताए । निर्वाचनको समयमा स्थिर सरकार र सुखि नेपाली समृद्ध नेपालको नारा दिएपनि तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरबका योजनाहरुको प्रगति शून्यप्राय रहेको उनले बताए ।
उनले भने, ‘‘सरकार तेस्रो बजेट ल्याउने तयारीमा छ । निर्वाचनमा स्थिर सरकार र सुखि नेपाली समृद्ध नेपालको नारा लगायौँ । तर तेस्रो बजेट ल्याउँदै गर्दा यो सरकारले विगत २ वर्षमा राष्ट्रिय गौरबका आयोजनाहरुको अवस्था चिन्ताजनक छ ३३ अर्बका लागतमा आर्थिक वर्ष २०७४÷२०७५ मा सम्पन्न गर्ने भनिएको मध्य पहाडी लोकमार्ग लागतको लागत बढेर ८४ अर्ब पुगेको छ ।
२०७९÷०८० सम्म सम्पन्न गर्ने भनिएको छ । ४७ अर्बको हुलाकी राजमार्ग अहिले ६५ अर्ब लागत पुग्यो । सिक्टाको लागत झण्डै दोब्बर भएको छ । २०७०÷७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको कर्णाली राजमार्ग १० वर्ष पर धकेलिएको छ । नीजगढ विमानस्थलको प्रगति शून्य छ ।
आजको मितिसम्म विद्यूत क्षेत्रमा भारतबाट ५५ अर्बको निर्यात गरिरहेका छौँ । माथिल्लो तामाकोसी ३५ अरब ९ करोड लागतमा २ वर्ष अगाडी सम्पन्न गरिसक्नुपर्नेमा अहिले लागत ७७ अर्बमा पुगेको छ । माथिल्लो सेती, बुढीगण्डकी आयोजापनि त्यस्तै छ । ड्रिम प्राजेक्टको रुपमा रहेको मेलम्ची ड्रिममै रहेको छ ।
यस्तो अवस्थाले कसरी देशको विकास हुन सक्छ । यो गतिले नेपाल कहिले विकास हुन सक्छ ।’’