१७ जेठ, काठमाडौँ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका छन् । उनले लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको बताउँदै वार्ताबाटै हल गर्ने बताएका हुन् ।
भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले अन्तर्वार्तामा भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’
रक्षामन्त्री सिंहले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने बताए ।
यसअघि गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नै नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रुपमा बनाइएको नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेपछि सीमा विवाद झनै बढेको थियो ।
त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो । साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो ।
नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।
भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ ।
सिंहले चीनसँगको पछिल्लो तनाव पनि वार्ताबाटै हल गरिने बताएका छन् । वार्ताद्वारा समस्या समाधानका लागि दुवै देश तयार भएको उनले बताए । साथै उनले चीनसँगको सीमा विवाद समाधानका लागि अमेरिकी मध्यस्थता नचाहिने पनि प्रस्ट पारेका छन् ।