२१ जेष्ठ, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले जारी गरेको सूचनाको अवज्ञा गर्न आह्वान गरेको छ।
चैतदेखि सरकारकै निर्णयअनुसार लक डाउन जारी रहे पनि विभागले मंगलबार एक्कासी सूचना प्रकाशित गरेर सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न निर्देशन दिएको छ। व्यवसायीहरुले उक्त निर्देशनप्रति विरोध जनाएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी निर्णयको भद्र अवज्ञा गर्न आह्वान गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार ट्वीटमार्फत कर बुझाउन जारी भएको निर्देशनको अवज्ञा गर्न आह्वान गरेका हुन्। शर्माले ट्वीटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता? जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन।’
उनले सरकारले संकटका बेला राष्ट्रपति कार्यालयमा गलैंचा, मन्त्री निवासमा जिम खान किन चाहियो भन्दै प्रश्न गरेका छन्। गलैँचा, जिमखाना र यो ताकेता। सोध्न चाहन्छु कसैको व्यक्तिगत सनकमा देश चल्दैन कि यहि हो कम्युनिष्ट समाजवादको आधारसिला?’, उनले सोधेका छन्।
राजश्व विभागले गत फागुन र चैत महिनाको मासिक कर विरण, माघ र फागुन महिनाको द्धिमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिकको कर दाखिला गर्ने निर्देशन दिएको छ। यस्तै गत फागु्न र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने मन्त्रालयले जानकारी दिएको छ।
सूचना अनुसार फागुन र चैत महिना बुझाउनु पर्ने अग्रम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको करण दाखिल गर्नुपर्ने छ। यसैगरी आयकर ऐन अनुसार गत चैत महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६–०७७ को संशोधन जेठ मसान्तसम्म बुझाउनु पर्ने छ।
मन्त्रालयले आर्थिक ऐन बमोजिम गत फागुन र चैत महिनाकाृ शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुर सञ्चार सेवा दस्तुर दाखिला गर्नु पर्ने जानकारी दिएको छ।