२ असार, काठमाण्डौं ।
सरकारले यसअघि वितरण गरेको सबै सवारी पास रद्द गरेको छ ।
अब ट्राफिक प्रहरीले पासभन्दा पनि गाडीको नम्बर प्लेटका आधारमा जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्रै चल्न दिने गृह मन्त्रालयले जनाएको छ । त्यही अनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी चलिरहेका छन् ।
आज जोर गते भएकाले मोटरसाइकल तथा निजी गाडीको अन्तिम नम्बर जोर भएका गाडी मात्रै चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिजोर नम्बर प्लेट भएका गाडी चलाइएको पाइएमा कारबाही स्वरुप दिनभरी नै होल्ड गरिनेछ ।
सरकारले जनजीवन सहज बनाउनको लागि लकडाउन केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे साधन चल्न दिने निर्णय गरेको छ । यसैबीच मकवानपुरको भिमफेदीमा पहिरो खसेपछि कुलेखानी हुँदै काठमाण्डौ आउने सडकखण्ड बन्द भएको छ ।
राति भिमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । अत्यावश्यक सामान बोकेका, एम्बुलेन्स र अनुमतिप्राप्त गाडी मात्र काठमाण्डौ भित्रिन र बाहिरिन पाउनेछन् ।