२ असार, सिराहा ।
सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोजेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले नाकाबाटै फर्काएको छ । मंगलवार भारत प्रवेश गर्न खोज्दा सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले नेपाल तर्फ फर्काइदिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सीमा सुरक्षामा खटिएका सुरक्षा स्रोतका अनुसार सीमाबन्दीकै बीच भारत तर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लहानतर्फ फर्किएकी थिइन् । एक प्रहरी अधिकृतले भने-‘ अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । उहाँ फर्किनुभयो ।’
संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् । चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिरहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् ।
गिरीको ससुराली घर सिरहाको लहान नगरपालिका १४ स्थित बस्तीपुरमा रहेको र माइती घर भारत तर्फ रहेको छ ।