१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडका कारण थला परेका व्यवसायहरुको पुर्नस्थापनामा सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउने भएको छ ।
कोभिडको संक्रमणका कारण मारमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरु ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडका कारण कसैलेपनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी नीतिहरु बन्ने बताए । नेपाल टाईम्सका काठमाडौं संवाददातासँग कुराकानी गर्दे उनले भने , ‘‘हाम्रो उद्देश्य यति हो कि कोभिडको कारणले कोही कसैले मर्न नपरोस । खासगरी कुनै उद्यम व्यवसाय स्वास्थ्यको हिसाबले त आफ्नो सीमा रहे कोही थला नपरोस । भोलि रिकभर हुन सकोस अहिले अप्ठेरो परेपनि भोलि उ पुनस्थापित हुन सकोस र आफ्नो व्यवसायलाई निरन्तरता दिन सकोस भन्ने हिसाबले हाम्रा नीतिहरु बन्ने छन् । त्यसको लागि मौद्रिक नीतिले आफुले सक्ने काम गर्ने छ ।’’
अहिले अति प्रभावित, मध्यम प्रभावित कम प्रभावित व्यवसायहरुको विश्लेषण भइरहेको उल्लेख गर्दै उनले भने, ‘‘मौद्रिक नीतिका पनि आफ्नै सीमा छन सबै कुरा यसैले निराकरण गर्न सक्दैन् । यसले गर्न सक्ने मौद्रिक नीति अथवा यस भित्रको वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिले जुन हद सम्मको उपचार दिन सक्छ त्यो उपचारमा हामी त्यहाँभित्र आफ्नै किसिमको प्राथमिकिकरण गरेर उपचार खोज्छौं ।’’
सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेपनि कोरोनाको अनिश्चितता नहट्दा सम्म कुनै पनि कुराको टुंगो नहुने उनले बताए । कोरोना संक्रमणको जोखिम शून्यमा पुगेपछि बजार सञ्चालनमा आएमात्रै सरकारले लिएका लक्ष्यहरु प्राप्त हुने उनले बताए । उनले भने, ‘‘अहिले आफैमा पनि बजारमा प्रसस्त तरलता छ । बैंकिङ संस्थाहरुसम्म लिक्विड इन्सट्रुमेन्टहरु पनि त्यतिकै छ । भोलि रिफाइनान्स लागयतबाट पनि ठूलो रकम सपोर्ट गर्दै छौं केही छोटो समयलाई भएपनि त्यसले पनि ठूलो सहयोग गर्ने छ । त्यसले गर्दा त्यो लक्ष्य प्राप्त गर्नलाई यो कोभिड बेलैमा गइदियो भने त्यति ठूलो कुरा पर्दैन जस्तो मलाई लाग्छ ।’’
बजार चलायमान भएपछि बैंकिङ सिस्टममले पनि प्रसस्त तरलता दिने र त्यसपछि व्यवसायिक कृयाकलापहरु बढ्दै जाने उनले बताए ।