महाकाली सन्धिमा गल्ती भएको स्वीकार गरौ, दशगजाको दुवैतर्फ पाँच मिटर अग्ला पर्खाल लगाऔंः बामदेव गौतम

१४ असार, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले नेपाल–भारतको सिमानामा पाँच मिटर अग्ला पर्खाल लगाउनुपर्ने बताएका छन्।

सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने उपाध्यक्ष गौतमले बताएका हुन्। पार्टी स्थायी कमिटिको बैठकमा उपाध्यक्ष गौतमले अब ढिला नगरी नेपाल–भारतबिच रहेको खुल्ला सिमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नु पर्ने धारणा व्यक्त गरेका हुन् ।

तर प्रवेशाज्ञा भने निशुल्क उपलब्ध हुनुपर्ने उनको भनाई छ । गौतमले दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या शान्तिवार्ताबाट नै समाधान गर्नु पर्नेमा जोड दिएका छन् । यस्तै गौतमले सिंगो राष्ट्रलाई एकतावद्धगरी अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको समेत उल्लेख गरेका छन् ।

भारतीय सेनाा नेपाली भूमिबाट हट्दासाथ शतप्रतिशत विजय हासिल हुने उनको भनाई छ । महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा आफूसहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको घटनामा पार्टीले गल्ती स्वीकार गर्नपर्ने गौतमले माग गरेका छन् ।

‘पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोपसहित पार्टीबाट निश्कासन गर्ने त्यसबेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस्’, गौतमले स्थायी कमिटी बैठकमा माग गरेको उनको सचिवालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.