भारतमा टिकटकसहित चीनसँग सम्बन्धित ५९ एप्समाथि प्रतिबन्ध

भारतमा टिकटकसहित चीनसँग सम्बन्धित ५९ एप्समाथि प्रतिबन्ध

१६ असार, नयाँदिल्ली ।
भारतले चिनिसँग सम्बन्धित ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् ।

भारत र चिनियाँ सेनाबीच लद्दाख र चीन जोड्ने सीमा क्षेत्र ‘लाइन अफ एक्च्युल कन्ट्रोल’मा हिंसात्मक झडप भएको दुई सातापछि भारतले यस्तो निर्णय गरेको हो ।

भारतको सूचना प्रविधि मन्त्रालयले सूचना प्रबिधि ऐन, २००९ को अनुच्छेद ६९ ‘ए’को अधिकार प्रयोग गरी उक्त निर्णय गरेको छ । उक्त अनुच्छेदले सर्वसाधारणले सूचना प्राप्त गर्न प्रयोग गर्ने विधि र सुरक्षाका उपाय सम्बन्धी व्यवस्था गरेको छ । सार्वभौमिकता, अखण्डता, भारतको सुरक्षा, राज्यको सुरक्षा र जन आदेशसँग सम्बन्धित रहेकोले सोमबार प्रतिबन्ध लगाउने निर्णय गरिएको भारत सरकारले सोमबार साँझ आदेश जारी गर्दै जानकारी गराएको हो ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । लोकप्रिय एप्स टिकटकका २ सय मिलियन प्रयोगकर्ता छन् । यस कम्पनीले चीन सरकारसँगको सम्बन्धको कुरा भने अस्वीकार गर्दैआएको छ ।

प्रतिबन्ध लगाइएका मोबाइल एप्लिकेशनमा टिकटक, शेयर इट, वी च्याट, वेइबो, क्वै, यूसी ब्राउजर, शैन, क्लेश अफ किंग, डीयू बैटरी सेभर, हेलो, लाइकी, भाइरस क्लिनर, सी एम ब्राउजर, रोम्वे, क्लब फैक्ट्री लगायतका रहेका छन् ।

जुन महिनाको सुरुमा लद्दाखस्थित गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए । फलस्वरुप भारतमा चीनविरोधी प्रदर्शन समेत भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.