१८ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आज बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक परामर्शका लागि शीतल निवास पुगेका थिए ।
अब राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य भएको मानिनेछ ।
नेकपाका सचिवालय सदस्यहरूले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् दल फुटाउने कानुन ल्याउने तयारी गरिरहेको आरोप लगाएका छन्।
यसअघि पनि प्रधानमन्त्रीले दल फुटाउन मिल्ने गरी अध्यादेश ल्याउन सिफारिस गरेको केहीबेरमै राष्ट्रपतिले जारी गरिदिएकी थिइन्।

राष्ट्रपति भण्डारीको पत्र आउँदा राष्ट्रिय सभाको बैठक चलिरहेको थियो। अधिवेशन अन्त्यको सूचना आएपछि राष्ट्रिय सभाको दोस्रो बैठक बोलाइएको छ।
दोस्रो बैठकमा अधिवेशन अन्त्यको जानकरी दिने तयारी भैरहेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले जानकारी दिए।