आफ्नो पक्षमा देशैभर सडक आन्दोलन चर्काउन युवा विद्यार्थीलाई ओलीको निर्देशन

आफ्नो पक्षमा देशैभर सडक आन्दोलन चर्काउन युवा विद्यार्थीलाई ओलीको निर्देशन

१९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पार्टीमा मोर्चाबन्दी भएपछि सडक आन्दोलन चर्काउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । प्रचण्ड नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक आन्दोलन चर्काउने बाटो रोजेका हुन्।

पार्टीभित्र अल्पमतमा रहेका ओलीले सरकारमाथि संकट गहिरिँदै गएपछि युवा विद्यार्थीहरुलाई उकासेका हुन् । केपी ओलीको मध्यरातको निर्देशनपछि युवा विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काउने तयारी थालिसकेका छन् ।

बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले प्रदर्शनलाई काठमाडौँमा मात्र सीमित नगरी देशव्यापी बनाउन निर्देशन दिएको श्रोतले बताएको छ ।

स्थायी समितिमा आफूविरुद्ध मोर्चाबन्दी भए पनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट पछि नहट्ने अडान लिएका छन् । तर दाहाल नेपाल समूहले ओलीलाई जसरी पनि राजीनामा दिन बाध्य पार्ने रणनीति लिएका छन् ।

हालै प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन षडयन्त्र गरिरहेको र नेपालका नेताहरुले पनि उक्त षडयन्त्रमा साथ दिइरहेको बताएपछि नेकपामा विवाद चुलिएको हो । आफूहरुलाई ओलीले भारतीय एजेन्टको आरोप लगाएको भन्दै स्थायी समिति बैठकमा नेताहरुले उनको राजीनामा मागेका हुन् ।

विवादले चर्को रुप लिएपछि पार्टी फुटको संघारमा पुगेको छ । दाहाल नेपाल समूहको बैठकमा ओलीलाई हटाउन खोज्दा पार्टी फुटको संघारमा पनि पुग्न सक्नेबारे लामो बहस चलेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.