आफू र ओलीबीच कुनै गोप्य सहमति नभएकाले ढुक्क रहन नेताहरुलाई प्रचण्डको आग्रह

आफू र ओलीबीच कुनै गोप्य सहमति नभएकाले ढुक्क रहन नेताहरुलाई प्रचण्डको आग्रह

४ साउन, काठमाडौं ।
केही बेरअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जम्मा भएका नेकपा सचिवालय र स्थायी समितिका नेताबीचको छलफल सकिएको छ ।

छलफलका क्रममा अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै खालको गोप्य सहमति नभएको भन्दै नेताहरुलाई आश्वस्त पारेको छलफलबाट बाहिरिएका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

‘उहाँले १ घण्टा २० मिनेटसम्म आफ्ना कुरा राख्नुभयो, सबै कुरा स्पष्ट पारेपछि हामी आवश्त भएका छौं’, ती स्थायी समिति सदस्यले भने । उनका अनुसार छलफलमा क्रममा प्रचण्डले यस विषयमा आफ्नो सचिवालयमार्फत शनिबार नै खण्डनसमेत गरिसकेको जानकारी दिँदै ढुक्क हुन नेताहरुलाई आग्रह गरे ।

ओलीले महाधिवेशन गर्ने प्रस्ताव राखेकाले त्यसका लागि आफू सकारात्मक रहेको जवाफ मात्रै दिएको प्रचण्डले नेतालाई प्रष्ट पारे। छलफलकामा शनिबारको सचिवालय बैठकपछि ओलीसँगै प्रचण्ड पनि शीतल निवास गएको विषयमा पनि नेताहरुले प्रश्न गरेका थिए ।

यसबारे स्पष्ट पार्दै प्रचण्डले प्रधानमन्त्रीलाई भेट्न खोज्दा उतै बोलाएकाले मात्रै उता गएको बताए । ‘प्रधानमन्त्रीले सचिवालय बैठकपछि एक पटक भेटौं भन्नु भएको थियो ।

भेट्न उहाँको निवास पुग्दा शीतल निवास पुगिसक्नुभएछ’, छलफलमा प्रचण्डले बोलेका कुरा उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीले बोलाएपछि नजाने कुरा भएन, जाँदा त्यहाँ अरुलाई पनि बोलाउनुभएको रहेछ मलाई त्यसबारे जानकारी नै थिएन।’

आफूबाट धोका नहुने र एक्लैले ओलीसँग कुनै खालको सहमति नगर्ने भन्दै पचण्डले उपस्थित नेताहलाई आश्वस्त पारेपछि खुमलटारबाट आफूहरु बाहिरिएको एक नेताले जानकारी दिए ।

छलफलमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

त्यसैगरी भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मातृका यावद लगायतका स्थायी समिति सदस्य पनि छलफलमा उपस्थित थिए । अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई छलफलमा बोलाइए पनि अर्को महत्वपूर्ण काममा व्यस्त भएकाले उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

स्रोतका अनुसार छलफलका लागि सचिवालय सदस्यलाई मात्रै खबर गरिएको थियो । ओली र प्रचण्डबीच शनिबार भएको छलफल र सहमतिका विषयमा जिज्ञासा राख्न स्थायी समितिका नेताको समूह पनि आइतबार बिहान खुमलटार पुगेको थियो ।

त्यसपछि छलफलको विषय एउटै भएकाले सबै सँगै बसेको स्रोतको भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.