५ साउन, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड—१९) का कारण श्रमजिवि पत्रकार र सञ्चारमाध्यमले भोगका समस्याको विषयमा नेपाली कांग्रेसले चासो राखेको छ । सोमबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग कांग्रेसले कोरोना संकटको अवस्थामा जागिरबाट निकालिएका श्रमजिवि र सञ्चारमाध्यमहरुको विषयमा अन्तरक्रिया गरेको छ ।
जनताको आवाज बोल्ने श्रमजिविहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने माग सहित कांग्रेसले महासंघका पदाधिकारीहरुसँग छलफल गरेको हो । कांग्रेसको तर्फबाट प्रकाशशरण महत, एनपी साउँद र चन्द्र भण्डारी लगायत नेताहरुले महासंघका पदाधिकारीहरुसँग भेट गरेका हुन । नेता साउँदले श्रमजिविहरुका समस्या सरकार र सदनमा पुर्याउने बताए । पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो तर्फबाट प्रयास गरिरहेको उनले बताए । पत्रकारहरु निकाल्ने सञ्चारमाध्यममा गएर कांग्रेसले सञ्चालकहरुका कुरा सुनिरहेको पनि उनले बताए ।
अर्का नेता प्रकाशशरण महतले अहिलेको अफ्ठ्यारो अवस्थामा पत्रकारहरुलाई पेशाबाट विस्थापित गर्ने कार्यको विरोध गरे । तत्काल जिम्मेवारीबाट हटाइएका पत्रकारहरुको पुर्नवाहली हुनुपर्ने माग कांग्रेसको रहेको उनले बताए । मिडिया हाउसले पत्रकारहरुलाई पुनस्र्थापना नगर्दासम्म सरकारले कोभिडबाट परेको प्रभाव र आम जनताले भोग्नुपरेका समस्याहरुका विषयमा सत्य तथ्य रिपोर्टिङ गर्न लगाएर तलब र भत्ताको व्यवस्था गर्नुपर्ने बताए ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले जनताको आवाज बोल्ने पत्रकारहरुको जागिर नै खोसिएपछि मिडियाले जनताका समस्या कसरी बोल्छ भन्दै प्रश्न गरे । २० औं वर्षसम्म अर्बो नाफा कमाउने सञ्चार माध्यमहरुले अफ्ठ्यारो बेलामा कर्मचारीका लागि १, २ करोड खर्च गर्न नसकेपछि बाध्य भएर महासंघ कर्मचारी निकाल्ने सञ्चारमाध्यमहरुको दैलोमा धर्ना दिन बाध्य भएको बताए ।
पत्रकार विकास कार्कीले अरुका समस्या बोल्ने पत्रकारले आफ्ना समस्याहरुका बारेमा बोल्न नसक्दा अहिलेको समस्या उत्पन्न भएको बताए । कोरोनाको बेला फिल्डमा खटिएर काम गर्ने पत्रकार र फोटो पत्रकारहरुको सुरक्षाका बारेमा मिडिया मालिकहरु संवेदनशिल नभएको उनले बताए । मिडिया हाउस नाफमुखि भएरपनि अहिलेको समस्या देखिएको उनले बताए ।
कोरोनालाई बाहाना बनाएर अहिले धेरै सञ्चार माध्यमहरुले पत्रकारहरुलाई धमाधम जिम्मेवारी मुक्त गरिरहेका छन् । वर्षौसम्म काम गरिरहेको कर्मचारी र पत्रकारहरु समेत धमाधम जागिरबाट निकालिन थालेपछि महासंघ आन्दोलित भएको हो । धेरै सञ्चार माध्यमले कोभिडको कारण देखाउँदै आधा तलब मात्रै दिएर काम गराइरहेका छन् । देशकै ठूला संस्था भनिएका मिडिया हाउसहरुले धमाधम पत्रकारलाई सेवाबाट अलग गर्दे आएका छन ।