७ साउन, काठमाडौं । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ ।

उनको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहेका थिए । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिइन् ।
आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

पूर्व सांसद समेत रहेका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका छन् ।

अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, उर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपती पुगेका थिए ।

बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित छन् ।