२१ साउन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि देशको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई गरिएको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि सावधानिका लागि बुधबारदेखि सिंहदबारमा अत्यावश्यक बाहेकका व्यक्तिको प्रवेशमा कडाई गरिएको सिंहदरबार गण प्रहरीले जनाएको छ । त्यसका लागि अस्थायी पास बन्द गरिएको प्रहरीको भनाई छ ।
सिंहदरबार भित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको जनाइएको छ । भिडभाड कम गरी संक्रमणको जोखिम कम गर्नका लागि संसदीय समितिको बैठक पनि केही समय नडाक्ने गरी तयारी भएको स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा मंगलबार मात्रै ६२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने विकल्पमा छलफल गरिरहेको छ ।