प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : यो अयोध्या सिर्जना गर्ने बेला हो कि अस्पताल बनाउने ?

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : यो अयोध्या सिर्जना गर्ने बेला हो कि अस्पताल बनाउने ?

३० साउन, गोरखा ।
जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको बताएका छन् ।  शुक्रबार गृह जिल्ला गोरखामा सञ्चारकर्मीसगँको कुराकानीमा भट्टराइले सरकार लहडको भरमा चलेको पनि आरोप लगाए ।

उनले भने– ‘यस्ता नेता छानेका छौं, जुन नेताहरु कोरोनाको बेला आफ्नो पार्टीको झगडाका निम्ति महिनौं बैठक गर्नुहुन्छ । समाचार हेर्नुभयो भने मान्नुस् केपी ओली र प्रचण्डको वार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सि जिनपिङको वार्ता भएजस्तो हो, नरेन्द्र मोदी र केपी ओलीको वार्ता भएजस्तो हो, उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने बेला हो ? योभन्दा मजाक के हुन सक्छ ?’

अस्पताल र भेन्टिलेटर अभावका कारण मानिसहरु मरिरहेको भन्दै नेता भट्टराईले जनताको स्वास्थ्यप्रति गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । ‘अस्पतालमा उपकरण खोज्ने भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेला राम मन्दिर बनाउने रे,’ उनले भने, ‘यो अयोध्या सिर्जना गर्ने बेला हो कि अस्पताल बनाउने बेला हो ? उहाँहरु उल्टो दिशातर्फ जानुभएको छ, देशलाई धरापमा पारिराख्नुभएको छ ।’

चार महिनाको बन्दाबन्दीमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको तयारीमा सरकार चुकेको उनले बताए । अहिलेको प्राथमिकता पीसीआर परीक्षणको दायरा बढाउने र अस्पतालमा आवश्यक उपकरणको व्यवस्था गर्नेतर्फ हुनुपर्ने भट्टराइले बताए । तर, सरकार उल्टो दिशातर्फ गएको उनको आरोप छ । प्रधानमन्त्री ओली गैरजिम्मेवार रहेको र उनी सत्तामा रहेसम्म देश र जनताले दुःख पाइरहने भन्दै भट्टराइले असन्तुष्टि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.