३१ साउन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालले भारतबाट अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेको बताएका छन् । भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा शनिबार टेलिफोन गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई अर्थपूर्ण दुईपक्षीय सहयोगको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ–‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ ।’
गत कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा चिसोपना आएको थियो । त्यसपछि भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरि उद्घाटन गर्याे । नेपालले भारतलाई पटक–पटक दुईपक्षीय वार्तामा बस्नको लागि आह्वान गर्दै आए पनि भारतले विभिन्न कारण देखाउँदै टार्दै आएको थियो । त्यसपछि नेपालले पनि आफ्नो भूभागलाई समेटेर लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो ।
सीमा विवादमा वार्ता गर्न नचाहेको भारतका प्रधानमन्त्री मोदी सामु ओलीले अप्रिलमा कोरोना भाइरसको संक्रमणको विपदमा कुरा गरेपछि पहिलोपटक संवाद गरेका हुन् । कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गरेका छन् ।
कुराकानीका क्रममा दुई देशले कोरोना संक्रमण रोकथामका लागि गरिरहेको कामका बारेमा आफ्नो अनुभवसमेत साटेका छन् । दुई प्रधानमन्त्रीबीच कोरोना असर नियन्त्रणका लागि मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भारतसहित विश्वका वैज्ञानिकले कोरोनाविरुद्धको खोप बनाउने र यसले कोरोना नियन्त्रणमा लिन सक्ने आशा व्यक्त गरेका छन् ।
ओलीले मोदीलाई संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचित भएकोमा बधाई दिएको विज्ञप्तिमा जनाइएको छ । नेपालले पनि अस्थायी सदस्य निर्वाचनको लागि भारतलाई समर्थन गरेको थियो ।
त्यसैगरी भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीचको कुराकानीमा नेपालका प्रधानमन्त्री ओलीले भारतको सहयोग निरन्तर राखिराख्न अनुरोध गरेको जनाएको छ ।