३२ साउन, विराटनगर ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद समधानका लागि बनाइएको ६ सदस्यीय कार्यदलका बारेमा गलत र भ्रामक प्रचार गर्नु गलत भएको बताएका छन्।
प्रवक्ता श्रेष्ठले कार्यदलले आफ्नो काम सुरु गरिसकेको र यसले सकारात्मक सन्देश दिएको बताएका छन्। उनले कार्यदल गठनपछि पार्टी एकता सुनिश्चित भएको समेत दावी गर्दै एकताको रक्षाले सबैलाई खुसी बनाएको बताएका छन्।
उनले कार्यदलले पार्टी र सरकार सञ्चालनमा कसरी गुणातमक परिवर्तन गर्ने भन्ने सुझाब पेस गर्ने बताएका छन्।
‘कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनर्निमाण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ’, प्रवक्ता श्रेष्ठले आइतबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ।’
प्रवक्ता श्रेष्ठ लगायतका नेता कार्यदल गठनप्रति असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला उनले कार्यदलको गठनका बारेमा भ्रामक प्रचार गर्नु नितान्त गलत भएको बताएका हुन्। श्रेष्ठले पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गर्नुपर्ने बताए।
‘एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं,पार्टीभित्र केही विषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन’, उनले ट्विटरमा लेखेका छन्, ‘बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ।’