३ भदौ, काठमाडौं ।
निर्वाचन आयोगमा नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता भएको छ । दल दर्ताका लागि गत १२ असारमा आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । यो सँगै नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको अवस्थामा नेकपा एमालेको नाममा दल दर्ताको निवेदन परेपछि नेकपामा तरङ्ग पैदा भएको थियो । प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोप लगाएका थिए ।
कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।