१९ भदौ, काठमाडौं ।
सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।उनले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।
त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । विदाई हुँदै खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।
यसअघि मन्त्रिपरिषद् बैठकमा नै खतिवडाले राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रियसभा सदस्यकाे खाली एक सिटमा सरकारले वामदेव गौतमलाई सिफारिस गर्ने भएपछि गैर सांसद नै ६ महिनासम्म मन्त्री बनेका उनले पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।