१९ भदौ, काठमाडौं ।
बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार अपराध महाशाखाको टोलीले झडपका क्रममा प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन रहेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
एसपी थापाका अनुसार उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको छ । प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।