राष्ट्रिय सभा सदस्यमा वामदेवलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रिय सभा सदस्यमा वामदेवलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

१ असोज, काठमाडौं ।
सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गर्न बुधबार सिफारिस पत्र पठाएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सम्भवतः बिहीबार नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गर्नेछिन् । राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्षबाट गौतमले शपथ ग्रहण गर्नेछन् ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सोमबार नै मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारेमा केही जानकारी दिएका थिएनन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता ज्ञवालीले यो निर्णय जानकारी नगराएपछि गौतमको राष्ट्रिय सभामा सिफारिसबारे आशंका बढेको थियो । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ ।

त्यही सिटमा वामदेव गौतमलाई मनोनीत गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.