नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छाैँ : मोदी

नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छाैँ : मोदी

१ असोज, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक र सांस्कृतिक आधारमा नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान दिएको जन्मदिनको शुभकामनाको लागि धन्यवाद दिँदै मोदीले यस्तो बताएका हुन् । उनले ट्विटमा लेखेका छन् – ‘हामी ऐतिहासिक र संस्कृतिक आधारमा भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छौं ।’

प्रधामन्त्री ओलीले बिहिबार बिहान मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन निकट रहेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

विगत केही महिनादेखि सीमा विवादका कारण नेपाल र भारतबीचको सम्बन्ध सहज छैन । नेपालले लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेर संविधान समेत संशोधन गरेयता दुई देशबीच लामो समयसम्म संवादहीनता कायम थियो ।

गत १५ अगष्टमा भारतको स्वतन्त्रता दिवसको अवसरमा ओलीले नै मोदीलाई फोनमा शुभकामना दिएर लामो समयको संवादहीनतालाई तोडेका थिए । त्यसपछि भने दुई देशको सम्बन्ध केही सहज बन्दै गएको जानकारहरु बताउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.